झापामा बस दुर्घटना : तीन जनाको मृत्यु
प्रकाशित मिति : 2 October, 2025 2:26 pm
झापा । विजयादशमीको दिन झापामा भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट अगाडि बिहानै विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकमध्ये सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई, मोरङको रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय बसका सहचालक राजकुमार चौधरी र एक जना पुरुषको भने परिचय खुल्न नसकेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा घाइते भएकामध्ये १२ जनाको उपचार बी एण्ड सी अस्पतालमा भइरहेको प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । दुर्घटनापछि बस चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।








