२० मंसिर २०८२, शनिबार

विपद् पूर्वतयारीमा सरकार सक्रिय, तर परीक्षण क्षण अझै बाँकी

प्रकाशित मिति :  3 October, 2025 6:01 am


काठमाडाैँ । नेपालमा मनसुन सक्रिय भएसँगै सम्भावित विपद् न्यूनीकरणका लागि सरकारले चारै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ ।

बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभावले नेपालमा असोज १७ देखि २१ गतेसम्म भारी वर्षा र कतिपय ठाउँमा अति भारी वर्षा हुने प्रक्षेपण गरिएकाले गृह मन्त्रालयले सम्बन्धित निकायलाई सतर्क रहन निर्देशन दिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको भर्चुअल बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका सदस्य, चारै सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित अधिकारीको उपस्थिति थियो ।

बैठकमा मन्त्री अर्यालले विगतका कमीकमजोरी दोहोरिन नदिन आग्रह गर्दै आपसी समन्वयका साथ विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा सक्रिय हुन निर्देशन दिए ।

उनले विपद् व्यवस्थापन केवल प्राविधिक जिम्मेवारी नभई जनतासँग विश्वास कायम गर्ने अवसर पनि भएकाले सरोकारवाला निकायले समयमै जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

गृहसचिव रामेश्वर दंगालले केन्द्रमा प्राधिकरण र जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति नेतृत्वमा रहँदै पूर्वतयारी, खोज तथा उद्धार कार्य एकद्वार प्रणालीअनुसार अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले मनसुन प्रतिकार्य कमाण्ड पोष्ट सक्रिय बनाई सम्भावित जोखिमलाई न्यून पार्ने व्यवस्था गर्न निर्देशन दिए। बैठकमा कार्यकारी प्रमुख दिनेश भट्टले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ अनुसार सबै जिम्मेवार निकाय क्रियाशील बनाइएको जानकारी गराए ।

यस क्रममा जोखिमयुक्त क्षेत्रमा अत्यावश्यकबाहेक सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको छ। काभ्रे, मकवानपुर, ललितपुरलगायतका जिल्लाले रातिको समयमा गाडी सञ्चालन रोक लगाउने सूचना जारी गरेका छन् ।

विशेषगरी बीपी राजमार्ग र अरनिको राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ। गत वर्षको असोजमा भारी वर्षाले ती सडक क्षतविक्षत बनाएकाले यसपटक अझ सतर्कता अपनाइएको बताइन्छ।

बैठकमा निर्णयअनुसार राष्ट्रिय र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र चौबिसै घण्टा सक्रिय राखिने, आपत्कालीन गोदाम तत्काल प्रयोगमा आउन सक्ने तयारी गर्ने र डोजर, लोडर, एस्काभेटरजस्ता उपकरणहरू तत्काल परिचालन हुने गरी तयारी अवस्थामा राखिने छ ।

विपद् प्राधिकरणले समेत अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन र रातिको समयमा यात्रा नगर्न आम नागरिकलाई आह्वान गरेको छ। बाढी–पहिरोको उच्च जोखिम रहेका स्थानका बासिन्दालाई सतर्क रहनुका साथै सुरक्षित स्थानतर्फ सर्ने सुझाव दिइएको छ ।

यसरी सरकारले चारै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको घोषणा गर्दै ठोस पूर्वतयारीको खाका प्रस्तुत गरेको छ। तर विगतका अनुभव हेर्दा अलर्ट घोषणापछि वास्तविक कार्यान्वयनमा कत्तिको तत्परता देखिन्छ भन्ने कुरा अबको वर्षाले नै परीक्षा लिनेछ ।



प्रतिक्रिया दिनुहोस !