अविरल वर्षाका कारण तीन दिन लामो दूरीका सवारी बन्द
काठमाडाैँ । सरकारले लगातार भइरहेको वर्षा र संभावित विपद् जोखिमलाई ध्यानमा राख्दै तीन दिनका लागि लामो दूरीका सवारीसाधन बन्द गर्ने निर्णय गरेको छ । साथै काठमाडौँ उपत्यकामा भित्रिने–बाहिरिने सम्पूर्ण सवारी आवागमन रोकिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यही असोज १८ देखि २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने, साथै केही स्थानमा भारीदेखि अति भारी वर्षा पर्न सक्ने सम्भावना रहेको छ।
भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट जनधनमा ठूलो जोखिम हुन सक्ने भएकाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधन असोज १८, १९ र २० गते बन्द गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ।
यस्तै, काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सम्पूर्ण सवारी आवागमन पनि सोही अवधिमा रोक लगाइएको छ। प्राधिकरणले यातायात व्यवसायीलाई अत्यावश्यक बाहेकका सवारी सञ्चालन नगर्न आग्रह गरेको छ।
साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई यातायात आवागमन पूर्ण रूपमा रोकथाम गर्न तथा अनुगमनलाई कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।
यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै प्राधिकरणले सो अवधिमा अनावश्यक यात्रा नगरी सुरक्षित रूपमा घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक सूचना रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत लिन आग्रह गरेको छ।








