पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
प्रकाशित मिति : 4 October, 2025 2:57 pm
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सीमामा पर्ने कात्तिके डाँडामा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटना हुँदा सो क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा मृतक र घाइते भएकाहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था लगिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि तयारी अवस्थामा राखिएको छ ।
दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले सडक चिपचिपो र जोखिमपूर्ण बनेको हुँदा दुर्घटनाको सम्भावना बढेको भन्दै प्रहरीले यात्रु र चालकलाई सतर्क रहन आग्रह गरेको छ ।








