दसैँको टीका लगाउने क्रम जारी : राजधानीमा पुनः भीड बढ्न थाल्यो
काठमाडाैँ । आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि देशभर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन नपाएका धेरै नेपाली आज आफन्त तथा मान्यजनका हातबाट देवीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्दैछन्।
नवरात्रभर पूजाआराधना गरी विजयादशमीका दिन देवी विसर्जनपछि सुरु भएको टीका–जमरा लगाउने र आशीर्वाद लिने परम्परा एकादशी हुँदै कोजाग्रत पूर्णिमासम्म चल्ने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार देवीको प्रसाद भएकाले पूर्णिमासम्म टीका ग्रहण गर्न सकिने मान्यता रहेको छ ।
यद्यपि पश्चिम नेपालका केही जिल्लाहरूमा भने विजयादशमीकै दिन मात्र टीका लगाउने चलन रहँदै आएको छ । दसैँ असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइए पनि यस पर्वसँग जोडिएका अनेक किंवदन्ती र परम्परागत आस्था रहेका छन् । यसलाई परिवार र आफन्तबीच भेटघाट गर्ने, सद्भाव र आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि लिइन्छ।
दसैँका लागि काठमाडौँ उपत्यकाबाट करिब ६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । पर्वको अन्त्यसँगै घर फर्कनेहरूको लर्को बढेपछि केही दिन सुनसान रहेको उपत्यकामा अहिले पुनः भीडभाड देखिन थालेको छ ।








