आठ नदी खतराको तहमा : १२ नदी सतर्कता स्तरमाथि
दाङ । अविरल वर्षासँगै देशका विभिन्न नदी–नालाहरूमा पानीको बहाव तीव्र बनेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५ः३० बजेको मापनमा आठ वटा नदी खतराको तह पार गरिसकेका छन्।
खतराको तह पार गर्ने नदीहरूमा बागमती, सुनकोसी, अरूण, तमोर, कन्काई, बुढी खोला (सुनसरी) र बिरिङ खोला (झापा) लगायतका नदीहरू रहेका छन्। ती नदीहरूका विभिन्न स्थानमा जलसतह लगातार बढ्दो क्रममा रहेको विभागले जनाएको छ।
त्यस्तै, देशभरका १२ वटा नदी मापन केन्द्रहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको र बहाब अझै बढिरहेको महाशाखाले जनाएको छ। बागमती, कमला र कोसी जलाधार क्षेत्रका प्रमुख नदीहरू अहिले सतर्कता तहभन्दा माथि छन् भने अन्य नदीनालाहरू पनि खतराको तह नजिक पुगेका छन्।
विभागका अनुसार बागमती र मधेस प्रदेशका क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्दै गएको भए पनि कोशी प्रदेशका धेरै स्थानमा अझै मध्यमदेखि भारी वर्षा भइरहेको छ।
विभागले आगामी केही घण्टासम्म वर्षाको तीव्रता कायम रहने चेतावनी दिँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।








