१९ मंसिर २०८२, शुक्रबार
प्राकृतिक विपत्ती

पहिरोमा पुरिएर इलाममा दुई जनाको मृत्यु : कम्तीमा १० जना बेपत्ता

प्रकाशित मिति :  5 October, 2025 8:47 am


दाङ । अविरल वर्षापछि इलामका विभिन्न गाउँहरूमा पहिरोले विनाश मच्चाएको छ । बाढी–पहिरोका कारण जनधनको ठूलो क्षति भएको अनुमान गरिए पनि प्राधिकृत तथ्यांक संकलनमा कठिनाइ भइरहेको छ।

जिल्लाको मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका बस्तीमा घरहरू पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सडक र भू–आकृतिक अवरोधका कारण सुरक्षाकर्मीहरू घटनास्थलसम्म पुग्न नसक्दा राहत तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर माथिबाट आएको पहिरोले पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । परिवारका अन्य तीन सदस्य बेपत्ता छन् ।

स्थानीय स्वयंसेवक र प्रहरी खोज–उद्धारमा खटिए पनि लगातारको पानी र कीचडले काम कठिन बनाएको छ। दुई घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले बताए ।

माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना बेपत्ता भएका छन् भने सन्दकपुर–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई जना हराइरहेका छन् । माङ्सेबुङ गाउँपालिका क्षेत्रमा पनि पाँच जना बेपत्ता भएको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहानपछि वर्षा घटेपछि उद्धार टोलीहरू सक्रिय भएका छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, “हामीले सबै स्थानीय तहसँग समन्वय गरी बेपत्ताको खोजी र राहत वितरण सुरु गरेका छौँ, तर पहिरोले बाटो काट्दा धेरै ठाउँ पुग्न कठिन भइरहेको छ ।”

स्थानीयहरूले भने इलामका धेरै वडामा बस्तीमै जोखिम बढेको बताएका छन्। खेतबारी पानीले डुबानमा परेका छन्, विद्युत् र सञ्चार अवरुद्ध छ। अहिले जिल्लाका सबै स्थानीय तहहरू उच्च सतर्कतामा छन्।



प्रतिक्रिया दिनुहोस !