अविरल वर्षाले देशभरका राजमार्ग अवरुद्ध : लामो दूरीका सवारीसाधन अझै रोक
दाङ । अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा ठूलो क्षति पुगेको छ । मौसम क्रमशः खुल्दै गए पनि कतिपय मुख्य सडकखण्ड अझै बन्द छन् ।
पृथ्वी लोकमार्गको जवाङखोला सडकमा माथिबाट पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको र उक्त खण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
जोखिम कायम रहेकाले सरकारले लामो दूरीका सवारीसाधन र रातिको समयमा आवागमन असोज २० गतेसम्मका लागि रोक्ने निर्णय गरेको थियो ।
आज बिहान मौसम खुले पनि बाढी–पहिरोले अवरोध नगरेका सडकहरूमा सवारी सञ्चालन पुनः सुरु गर्ने पहल भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा संकलित आज बिहान ९ः३० बजेसम्मको तथ्यांकअनुसार, काठमाडौंको चन्द्रागिरिबाट धादिङ र मकवानपुरतर्फ जाने नागढुंगा, गोदाम र टखेल सडकखण्डमा दुवै तर्फका सवारीसाधन अर्को आदेश नआएसम्मका लागि होल्ड गरिएको छ ।
चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डमा नाम्चेखोला र तुइनखोला आसपासमा माथिबाट पहिरो खसेपछि एकतर्फी आवागमन मात्रै सम्भव भएको छ ।
त्यस्तै, काभ्रेको बीपी र अरनिको राजमार्गमा धुलिखेलदेखि दोलालघाट हुँदै सिन्धुपाल्चोक सिमानासम्म दुवै तर्फका सवारीसाधन अनिश्चितकालका लागि रोकिएका छन् ।
रसुवाको रसुवागढी नाकामा बाढी आएर नेपाल–चीन जोड्ने पुलमा क्षति पुगेपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ । रसुवाकै घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्डमा ढुङ्गासहितको सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।
सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग, खाँदबारी–किमाथांका–थुमसुर खण्ड पूर्ण रूपमा अवरुद्ध छ । अरनिको राजमार्गमा चारकिलो क्षेत्रमा सडक भासिएर यातायात रोकिएको छ ।
त्यस्तै, ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको फाखेल–हुमाने–काठमाडौं सडकखण्ड, कान्तिलोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड पनि दुईतर्फी अवरुद्ध भएका छन् ।
सिन्धुलीको सिन्दुरे दोभानस्थित मदन भण्डारी राजमार्गमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ भने धनकुटाको साँगुरीगढीस्थित कोशी लोकमार्गको चनौटे र सिमसुवा क्षेत्रमा तीन ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्राधिकरणका अनुसार अझै धेरै स्थानमा पहिरो र सडक क्षतिग्रस्त भएकाले जोखिम कायमै छ । प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय स्वयंसेवकहरू परिचालन गरी बाटो खुलाउने कार्य जारी राखिएको छ ।








