१९ मंसिर २०८२, शुक्रबार

पूर्वमा मनसुनको असर : इलाममा १८ सहित देशभर २२ जनाको मृत्यु

मनसुन हाल पूर्वतिर सक्रिय, बिहानैदेखि पूर्वी क्षेत्रमा पानीको मात्रा अत्यधिक छ
प्रकाशित मिति :  5 October, 2025 12:02 pm


दाङ । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा मनसुनजन्य विपदबाट २२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेप्रसाद भट्टका अनुसार शुक्रबारदेखि आइतबार बिहानसम्मको तथ्यांकअनुसार इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, उदयपुरमा एक र रौतहटमा चट्याङका कारण तीन जनाको मृत्यु भएको छ। उदयपुरमा २२ जना सवार हाइस दुर्घटनामा परेको छ ।

हाइसलाई जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको र २२ मध्ये २१ जनाको उद्धार गरिए पनि एक जनाको खोलाले बगाउँदा मृत्यु भएको भट्टले जानकारी दिए ।

उदयपुरकै गिरेबी खोलामा केही व्यक्ति डुबानमा फसेका र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । इलाममा एक गर्भवती महिलाको उद्धारका लागि हेलिकप्टर पठाइएको प्राधिकरणले जनाएको छ । अविरल वर्षाका कारण पूर्वका पाँच वटा ठूला नदीहरूमा बाढीको जोखिम रहेको भट्टले बताए ।

उनका अनुसार मनसुन हाल पूर्वतिर सक्रिय छ र बिहानैदेखि पूर्वी क्षेत्रमा पानीको मात्रा अत्यधिक छ। विपद् जोखिम अझै कायमै रहेको भन्दै उनले उच्च सतर्कता अपनाउन आग्रह गरे ।

त्यसैगरी, देशभरका सडक तथा यातायात पूर्ववत रूपमा बन्द नै राखिएको जनाइएको छ । सुरक्षाकर्मी, स्थानीय स्वयंसेवक र उद्धार टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !