बाँकेमा फेरि दोहोरियो द्वन्द्वपूर्ण विसर्जन : शान्तिका सट्टा तनाव, अनिश्चितकालीन निषेधाज्ञा लागू
दाङ । बाँके जिल्लामा यस वर्षको दुर्गा मूर्ति विसर्जन पनि धार्मिक सद्भावभन्दा तनाव र अविश्वासले ओतप्रोत बन्यो । शनिबार साँझ विसर्जनका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडपको स्थिति सिर्जना भएपछि प्रशासनले राति ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्न बाध्य भयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले डुडुवा गाउँपालिका–६, नेपालगञ्ज उपमहानगरपालिका–१४, १५ र २३ तथा नरैनापुर गाउँपालिका–५ मा निषेधाज्ञा लागू भएको जानकारी दिए ।
उनले भने, “दुर्गा माताको मूर्ति विसर्जनका क्रममा उत्पन्न तनावले शान्ति र सुरक्षा जोखिममा परेकाले तत्काल निषेधाज्ञा जारी गरिएको हो।”
आदेशअनुसार निषेधित क्षेत्रभित्र पाँच जनाभन्दा बढी व्यक्तिको भेला, जुलुस, सभा, र्याली, धर्ना तथा कुनै पनि उच्छृङ्खल गतिविधिमा संलग्न हुन रोक लगाइएको छ। साथै हतियार बोक्न र अशान्ति फैलाउने कार्य गर्नेलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
स्थानीय प्रशासनले दुवै समुदायलाई संयमित रहन र धार्मिक सहिष्णुता कायम गर्न आग्रह गरेको छ। “शान्ति, सुरक्षा र धार्मिक सद्भाव सबैको साझा जिम्मेवारी हो,” जोशीले भने, “कसैको आस्थाले अर्कोको अस्तित्वमाथि प्रहार गर्न नपरोस्।”
बाँकेमा दुर्गा मूर्ति विसर्जनका बेला धार्मिक तनाव उत्पन्न हुनु यो पहिलो घटना होइन। विगतका वर्षहरूमा पनि यस्तै झडपका कारण निषेधाज्ञा जारी गर्नुपरेको थियो।
स्थानीयबासीको भनाइमा, धार्मिक उत्सवलाई राजनीतिक र साम्प्रदायिक रंग दिन खोज्ने तत्व सक्रिय हुने बित्तिकै वातावरण तनावग्रस्त बन्ने गरेको छ।
यस वर्ष पनि त्यही दोहोरियो-देवीको बिदाइ शान्तिपूर्वक गर्नुपर्ने बेला, बाँके फेरि प्रहरीको घेरामा, जनजीवन स्थब्ध र धार्मिक सद्भावको परिक्षणको घडीमा पुगेको छ।








