१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश

रिडी–तम्घास सडकखण्डमा सुख्खा पहिरो, आवागमन ठप्प

प्रकाशित मिति :  6 October, 2025 8:55 am


दाङ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्ड आज बिहानैदेखि सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ। रुरुक्षेत्र गाउँपालिका–३ पानीटङ्कीनजिक सडक माथिबाट ठूला ढुंगासहितको सुख्खा पहिरो खसेपछि यातायात पूर्णरूपमा बन्द भएको हो ।

दसैँ मनाएर घर फर्किने यात्रुहरूको भीड बढिरहेका बेला सडक बन्द हुँदा सवारी साधनको लामो लाइन लागेको छ । बिहानैदेखि सडक अवरुद्ध भएपछि यात्रुहरू बीच असहज अवस्था सिर्जना भएको छ ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी नायव उपरीक्षक गंगाबहादुर सारुले पहिरोले सडक पुरा अवरुद्ध बनाएपछि तत्काल वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । उनका अनुसार सवारी साधनलाई पानीटङ्की हुँदै सालबिसौना मार्गबाट सञ्चालन गर्न निर्देशन दिइएको छ ।

सडक खुलाउन डोजर परिचालनको तयारी भइरहेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो। उहाँका अनुसार सडक माथिबाट ठूला चट्टान खसिरहेकाले सफाइ कार्यमा जोखिम रहेको र अझ केही समय सडक सुचारु हुन नसक्ने सम्भावना छ ।

सडक निर्माण कम्पनी र स्थानीय तर्फबाट संयुक्त प्रयास सुरु गरिएको छ भने प्रहरी र स्थानीय बासिन्दाले यात्रुहरूलाई सुरक्षित स्थानमा राख्ने कार्यमा सहयोग गरिरहेका छन् ।

स्थानीयवासीका अनुसार पछिल्ला दिनमा लगातार सुक्खा मौसमका कारण ढुंगामाटो खुकुलो भएर पहिरो खस्ने क्रम बढेको छ, जसले राजमार्गको यो भागलाई जोखिमपूर्ण बनाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !