१९ मंसिर २०८२, शुक्रबार
माैसमकाे कहर

बाढीपहिरोले देशभरका १८ राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  6 October, 2025 12:12 pm


काठमाडाैँ । अविरल वर्षाका कारण देशभरका १८ वटा प्रमुख राजमार्गहरूमा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, कोशी प्रदेशदेखि बागमती र गण्डकी प्रदेशका राजमार्गहरूमा ठूलो क्षति पुगेको छ।

सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा रहेको कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यसैगरी, ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग र उदयपुरको कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग पनि सम्पूर्णरूपमा बन्द भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

धनकुटाको पाख्रिबास नगरपालिका–५ ढिकुरे र साँगुरीगढी गाउँपालिका–१ को कोशी लोकमार्ग, इलाम नगरपालिका–९ राजदुवालीलगायतका मेची राजमार्गका विभिन्न स्थानहरूमा पनि पहिरोका कारण बाटो अवरुद्ध भएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन मितेरी पुल र सोही गाउँपालिकाको स्याफ्रुँबेशीसहित चार स्थानमा बाटो पूर्णरूपमा बन्द भएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्ग, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित बिपी राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन ।

मकवानपुर जिल्लामा समेत ठूला क्षति भएका छन्। बकैया गाउँपालिका–११ घट्टेखोलास्थित कान्ति लोकपथ, भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवर गाउँपालिका–३ कुलेखानी–दक्षिणकाली सडकसमेत पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित बिपी राजमार्ग पनि बन्द भएको छ ।

प्रहरीका अनुसार ती क्षेत्रमा सडक मर्मत र पहिरो पन्छाउने कार्यमा स्थानीय निकाय र सडक विभागका मेकानिकल टोलीहरू परिचालन भइरहेका छन् । यद्यपि, वर्षा अझै जारी रहेकाले काममा कठिनाइ भइरहेको जनाइएको छ ।

प्रहरीले यात्रु र चालकहरूलाई अनावश्यक जोखिम नगरी वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । साथै, वर्षा रोकिएलगत्तै सडक मर्मत र यातायात सञ्चालनका लागि डोजर, एक्साभेटर र जनशक्ति परिचालन गरिने तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !