१९ मंसिर २०८२, शुक्रबार
वित्तीय सन्तुलन कायम राख्ने प्रयास

अधिक तरलता घटाउन नेपाल राष्ट्र बैंकको ९० अर्ब निक्षेप संकलन योजना

प्रकाशित मिति :  7 October, 2025 12:01 pm


काठमाडौँ । वित्तीय बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (मङ्गलबार) ९० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने निर्णय गरेको छ । राष्ट्र बैंकले यो कदम निक्षेप संकलन उपकरणमार्फत उठाउने भएको हो ।

केन्द्रीय बैंकका अनुसार, १२ दिन अवधिका लागि निक्षेप संकलन उपकरण बोलकबोल गरी तरलता कम गर्ने तयारी गरिएको हो। बोलकबोलमा ब्याजदर अनलाइन प्रणालीमार्फत प्रतिस्पर्धात्मक दरमा निर्धारण हुने बताइएको छ ।

राष्ट्र बैंकले जनाएको छ कि यस बोलकबोलमा निक्षेप रकमको साँवा र ब्याज २०८२ कात्तिक २ गते भुक्तानी गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम रकम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म कबोल गर्न सक्नेछन् ।

हाल देशको कुल निक्षेप ७३ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यसले बजारमा अत्यधिक तरलता सिर्जना गरेको भन्दै राष्ट्र बैंकले यसअघि पनि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गरी तरलता व्यवस्थापन गर्दै आएको छ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर कबोल गर्ने पक्षलाई प्राथमिकता दिनेछ।

राष्ट्र बैंकको खुला बजार कारोबार कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बैंकले अधिकतम ६ महिनासम्मका दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। सोही प्रावधानअनुसार, केन्द्रीय बैंकले आवश्यकतानुसार पटक–पटक यो उपकरण प्रयोग गर्दै आएको जनाएको छ।

विश्लेषकहरूको भनाइमा, राष्ट्र बैंकको यो कदमले अल्पकालीन ब्याजदरलाई स्थिर बनाउन र वित्तीय बजारमा सन्तुलन कायम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !