सुनको मूल्यले तोड्यो सबै रेकर्ड : प्रतितोला २ लाख ३८ हजारमा कारोबार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधवार एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले बढेपछि सुन हालसम्मकै महँगो दरमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ । यसअघि मंगलबार प्रतितोला दुई लाख ३५ हजार ४ सय रुपैयाँमा पुगेको सुनले त्यसबेला नै नयाँ रेकर्ड बनाएको थियो ।
लगातारको मूल्यवृद्धिले सुन बजारमा कारोबार सुस्त भएको व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुनु, मध्यपूर्वीय अस्थिरता र लगानीकर्ताहरूको सुरक्षित सम्पत्तितर्फ आकर्षण बढ्नु नै मूल्य वृद्धिका मुख्य कारण मानिएका छन् ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला दुई हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि पछिल्ला सात दिनयता निरन्तर बढ्दो क्रममा छ । विशेषज्ञहरूका अनुसार चाँदी र सुन दुबैको मूल्यमा आगामी सातादेखि पनि वृद्धि हुने सम्भावना उच्च रहेको छ ।








