बाढीपहिरोकाे प्रकाेप : सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड खर्च हुने
काठमाडौँ । हालैको मनसुनजन्य बाढीपहिरोबाट देशभरका सडक तथा पुल संरचना व्यापक रूपमा क्षतिग्रस्त भएपछि सरकार पुनर्निर्माणका लागि १२ अर्ब ३८ करोड रुपैयाँ खर्च हुने अनुमानमा पुगेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुलहरू पुनःनिर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोका कारण अवरुद्ध भएका सडक सञ्चालनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनका अनुसार यथाशक्य चाँडो यातायात सुचारु गर्नका लागि उपकरणसहितका प्राविधिक र जनशक्ति तत्काल परिचालन गरिएको छ ।
मन्त्री घिसिङका अनुसार हाल मेची राजमार्ग सबैभन्दा बढी प्रभावित बनेको छ, जसको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । त्यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, र नारायणघाट–मुग्लिङलगायतका मुख्य राजमार्ग पुनःनिर्माणमा करिब ३ अर्ब ७७ करोड रुपैयाँ लाग्नेछ ।
उनको निजी सचिवालयका अनुसार बाढीपहिरोबाट क्षति पुगेका १७ वटा स्थायी पुल पुनःनिर्माण गर्न ४ अर्ब ५२ करोड रुपैयाँ खर्च लाग्नेछ ।
साथै, अस्थायी आवागमन सहज बनाउनका लागि आवश्यक बेलिब्रिज जडानमा ८० करोड र वैकल्पिक सडक मर्मत तथा सुधारमा १ अर्ब ५९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
सरकारका अनुसार अवरुद्ध सडकहरू खुलाउने काम तीव्र गतिमा भइरहेको छ र अधिकांश क्षेत्रमा अस्थायी यातायात सञ्चालन सुरु भइसकेको छ । मन्त्रालयले जनजीवनलाई सहज बनाउने लक्ष्यका साथ पुनर्निर्माण र मर्मत कार्यलाई निरन्तरता दिने जनाएको छ ।








