१९ मंसिर २०८२, शुक्रबार
विद्युतीय भुक्तानीमा पारदर्शिता

इन्टरनेट बैंकिङबाट २० लाखसम्म कारोबार गर्न सकिने

प्रकाशित मिति :  8 October, 2025 12:00 pm


काठमाडौँ । अब मोबाइल एप वा क्यूआर कोडमार्फत दैनिक तीन लाख रुपैयाँसम्म कारोबार गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीमा पारदर्शिता र पहुँच बढाउने उद्देश्यले दैनिक तथा मासिक कारोबार सीमा परिमार्जन गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको ‘विद्युतीय भुक्तानीसम्बन्धी जानकारीमूलक सूचना’ अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट–आईपीएस र क्यूआर कोडमार्फत हुने कारोबारमा नयाँ सीमा तोकिएको छ ।

नयाँ व्यवस्थाअनुसार मोबाइल बैंकिङ एप, कनेक्ट–आईपीएस एप वा क्यूआर कोड प्रयोग गरी सेवाग्राहीहरूले अब दैनिक तीन लाख रुपैयाँसम्म र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताका लागि दैनिक कारोबार सीमा २० लाख रुपैयाँ निर्धारण गरिएको छ भने बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्दा ५० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

वालेटमार्फत हुने कारोबारमा अन्य वालेटमा पठाउँदा दैनिक २५ हजार रुपैयाँ र मासिक १० लाख रुपैयाँको सीमा कायम गरिएको छ ।

राष्ट्र बैंकले स्पष्ट पारेको छ कि कुनै व्यक्तिले आफ्नो नाममा एउटै बैंक वा वित्तीय संस्थामा रहेका फरक खाताहरूबीच रकम स्थानान्तरण गर्दा भने कुनै सीमा लागू हुनेछैन ।

त्यस्तै, सरकारी राजस्व, कर, बिमा प्रिमियम, बिजुली–पानी महसुल, दूरसञ्चार शुल्क र विद्यालय शुल्कजस्ता नियमित भुक्तानीमा पनि सीमा नलाग्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका अनुसार यो कदमले डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी, सुरक्षित र प्रयोगकर्ता–मैत्री बनाउन सहयोग पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !