२० मंसिर २०८२, शनिबार
आन्तरिक छलफलमा देउवा

देउवाले पदाधिकारी बैठक बोलाए : महाधिवेशनबारे पनि छलफल हुने संकेत

प्रकाशित मिति :  8 October, 2025 8:17 pm


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नका लागि देउवाले आगामी बिहीबार दिउँसो पदाधिकारी बैठक आह्वान गरेका हुन् ।

एक पदाधिकारीका अनुसार सो बैठकमा केन्द्रीय समितिको कार्यसूची, संगठनात्मक समीक्षा र आगामी राजनीतिक कदमबारे प्रारम्भिक तयारी हुने अपेक्षा गरिएको छ ।

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा आक्रमणपछि घाइते भएका देउवा हाल स्वास्थ्य लाभमा रहेका छन्। तर यतिबेला पार्टीभित्र नेतृत्व परिवर्तन र महाधिवेशनको समयावधिबारे छलफल तीव्र बनेको छ ।

पार्टीका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने आवाज उठाइरहेका छन्। उनीहरूले नेता शेखर कोइरालासँग परामर्श गर्दै देशभरका महाधिवेशन प्रतिनिधिबाट हस्ताक्षर संकलन गर्ने अभियान पनि सुरु गरेका छन् ।

पार्टीभित्र देउवाले कार्यवाहक सभापति तोकेर अस्थायी रूपमा बिदा लिनुपर्ने वा आगामी मंसिरमा महाधिवेशन आयोजना गर्नुपर्ने विषयमा मतभेद देखिएको छ । असोज २६ को केन्द्रीय समितिको बैठकले यस विषयमा स्पष्ट दिशा तय गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !