२० मंसिर २०८२, शनिबार
निर्वाचनकाे तयारी

माओवादी केन्द्रको निर्देशन : मतदाता नामावली अद्यावधिक अभियानमा सक्रिय हुन आह्वान

प्रकाशित मिति :  8 October, 2025 8:21 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पंक्तिलाई मतदाता नामावली अद्यावधिक अभियानमा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन जारी गरेको छ ।

पार्टीका महाधिवेशन आयोजक समिति संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार विज्ञप्ति जारी गर्दै कार्यकर्ताहरूलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी आगामी कात्तिक ३० गतेभित्र मतदाता नामावली अद्यावधिक कार्य पूरा गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ-“निर्वाचनमा सहभागी हुने जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो खुड्किलो हो । त्यसैले सम्पूर्ण पार्टी पंक्तिले यो कार्यलाई गम्भीरतापूर्वक लिएर आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ ।”

दाहालले १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह वा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपरेमा आवश्यक प्रक्रिया पूरा गर्न र नाम, जन्म मिति वा अन्य विवरणमा त्रुटि भए सच्याउन आग्रह गरेका छन् ।

माओवादी केन्द्रको यो आह्वान निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमसँग मेल खाने गरी गरिएको हो । पार्टीले यो अभियानलाई संगठनगत रूपमा व्यापक रूपमा सञ्चालन गर्ने तयारी गरेको बताएको छ।



प्रतिक्रिया दिनुहोस !