२० मंसिर २०८२, शनिबार

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नारासहित विश्व हुलाक दिवस मनाइँदै

प्रकाशित मिति :  9 October, 2025 7:01 am


काठमाडाैँ । सूचना प्रवाह र नागरिक पहुँचको सेतु मानिने हुलाक सेवाको योगदान सम्झँदै आज (अक्टोबर ९) विश्व हुलाक दिवस नेपालसहित विश्वभर मनाइँदै छ ।

यस वर्ष दिवसको नारा ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ तय गरिएको छ, जसले हुलाक सेवा केवल पत्र वा पार्सलको माध्यम नभई जनजीवन जोड्ने डिजिटल ढोका भएको सन्देश दिन्छ ।

विश्व हुलाक सङ्घ स्थापना भएको सम्झनामा सन् १८७४ अक्टोबर ९ का दिन स्विजरल्याण्डको बर्नमा सुरु भएको यो संस्थाको वार्षिकोत्सवकै अवसरमा हुलाक दिवस मनाइन्छ ।

सन् १९६९ मा जापानको टोकियोमा भएको विश्व हुलाक महासभाले औपचारिक रूपमा यो दिवस मनाउने घोषणा गरेको थियो । त्यसयता हुलाक सेवाको ऐतिहासिक यात्रालाई सम्मान गर्दै हरेक वर्ष यो दिवस विश्वभर मनाइँदै आएको छ ।

नेपालमा पनि हुलाक विभाग र शाखा कार्यालयहरूले आजका दिन विशेष कार्यक्रम, निःशुल्क सेवा प्रदर्शन, नयाँ टिकट विमोचन र डिजिटल हुलाक प्रणालीको प्रचार–प्रसार गर्दै मनाइरहेका छन् । पछिल्ला वर्षमा नेपाल हुलाक सेवाले ग्रामीण क्षेत्रमा वित्तीय सेवा, इ–कमेर्स पार्सल वितरण र अनलाइन ट्र्याकिङ जस्ता आधुनिक सेवा विस्तार गर्दै आएको छ ।

दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सन्देश जारी गर्दै हुलाक प्रणालीले सहरी र ग्रामीण क्षेत्रबीचको भौगोलिक दूरी घटाउँदै विश्व समुदायलाई नजिक ल्याउने काम गरेको बताएका छन् । उहाँका अनुसार हुलाक कर्मचारीहरूको सञ्जालले दुर्गम गाउँदेखि सहरसम्म सूचना, सेवा र आशाको डोरो तानेको छ ।

गुटरेसले हुलाक सेवालाई “विश्वव्यापी समावेशी पहुँचको मेरुदण्ड” भनेर वर्णन गर्दै डिजिटल युगमा पनि यसको भूमिका घटेको नभई अझ विस्तार भएको उल्लेख गर्नुभएको छ । उहाँले हुलाक सेवा अब केवल पत्र पठाउने माध्यम नभई, सामाजिक र आर्थिक रूपान्तरणको साधन बनेको बताउनुभयो ।

नेपालका हुलाक अधिकारीहरूका अनुसार नयाँ प्रविधि र डिजिटल हुलाक प्रणालीमार्फत ग्रामीण–सहरी दुवै क्षेत्रमा सेवाको पहुँच विस्तार गर्ने तयारी भइरहेको छ । ग्रामीण भेगका नागरिकका लागि अझै पनि पत्र, पार्सल र सरकारी सूचना आदान–प्रदानको प्रमुख माध्यम हुलाक नै रहेको जनाइएको छ ।

साढे एक शताब्दी पुरानो इतिहास बोकेको हुलाक सेवा आज पनि “विश्वलाई नजिक ल्याउने मानवीय सञ्जाल”को रूपमा विश्वभर मनाइँदै छ ।



प्रतिक्रिया दिनुहोस !