इजरायल–हमासबीच युद्धविराम सम्झौता : अमेरिकी मध्यस्थतामा शान्तिको पहिलो चरण
काठमाडाैँ । लामो र रक्तपातपूर्ण द्वन्द्वपछि इजरायल र हमासबीच अन्ततः युद्धविरामको ऐतिहासिक सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा तयार गरिएको बहुपक्षीय शान्ति योजनाको पहिलो चरणमा दुबै पक्षले युद्ध रोकेर मानवीय सहयोग र कैदीबन्दी आदानप्रदानका कार्यक्रम सुरु गर्न सहमति जनाएका छन् ।
बीबीसीका अनुसार, सम्झौतामा बिहीबार इजिप्टमा हस्ताक्षर हुनेछ । पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिने र गाजामा पाँचवटा नाका तुरुन्त खोलिने प्रावधान छ, जसबाट मानवीय सहायता प्रवेश गराइनेछ ।
एसोसिएटेड प्रेसले जनाएअनुसार, हमासले यो साता नै सबै २० बन्दीहरू मुक्त गर्नेछ भने इजरायली सेना गाजाका धेरै भागबाट फिर्ता हुनेछ । ट्रम्पले यो सम्झौताबाट ‘स्थायी र दिगो शान्तितर्फको पहिलो बलियो कदम’ सुरु भएको भन्दै सबै पक्षसँग निष्पक्ष व्यवहार हुने प्रतिबद्धता जनाएका छन् ।
सम्झौताका ग्यारेन्टी राष्ट्रहरूका रूपमा अमेरिका, इजिप्ट, कतार र टर्की रहेका छन् । उनीहरूले दुबै पक्षले सर्त पालना गरिरहेसम्म आक्रमण पुनः सुरु नहुने आश्वासन दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्तामा एकअर्कालाई बधाई दिँदै आपसी सहकार्य निरन्तरता दिने सहमति भएको छ । नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (केनेसट) मा सम्बोधनका लागि निमन्त्रणा समेत दिएका छन् ।
कतारले यो सम्झौता सफल बनाउन निर्णायक भूमिका खेलेको बताइएको छ । अमेरिका, इजिप्ट, कतार र इजरायलका वार्ताकारहरू इजिप्टको शर्म–अल–शेखमा निरन्तर छलफलपछि सहमति नजिक पुर्याएका थिए ।
सम्झौताबारे नेतन्याहूले सामाजिक सञ्जालमा लेखेका छन्, “यो इजरायलका लागि विशेष दिन हो । यो केवल कूटनीतिक सफलता होइन, राष्ट्रिय र नैतिक विजय पनि हो । जबसम्म हाम्रा सबै बन्दीहरू फर्किंदैनन्, हामी आराम गर्ने छैनौं।”
यो युद्धविरामलाई सन् २०२३ अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्धपछिको सबैभन्दा ठूलो कूटनीतिक उपलब्धि मानिएको छ ।
त्यही आक्रमणमा १० नेपाली विद्यार्थीसहित करिब १,२०० जनाको मृत्यु भएको थियो । नेपाली विद्यार्थी विपिन जोशी अझै हराइरहेका छन् । हालै सार्वजनिक उनको पुरानो भिडियोपछि यो युद्धविरामले उनको अवस्थाबारे स्पष्टता ल्याउने आशा गरिएको छ ।
गाजामा अझै युद्धको घाउ गहिरो छ-हजारौँ बस्ती ध्वस्त, हजारौँ नागरिक विस्थापित छन् । तर, यो सम्झौता शान्ति र पुनर्निर्माणको नयाँ सम्भावना बन्ने अपेक्षा गरिएको छ ।








