२० मंसिर २०८२, शनिबार

दलहरुलाई राष्ट्रपतिकाे आग्रह : संविधानको रक्षाका लागि निर्वाचनमा जुट्नुहाेस्

प्रकाशित मिति :  10 October, 2025 8:22 pm


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचनलाई एकमात्र लोकतान्त्रिक निकासका रूपमा प्रस्तुत गर्दै दलहरूलाई मतपेटीकातर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

शुक्रबार शीतल निवासमा आह्वान गरिएको सर्वदलीय बैठकमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र प्रमुख दलका शीर्ष नेताहरू सहभागी थिए ।

राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लोकतान्त्रिक निरन्तरताको निर्णायक मोड भन्दै शान्ति, सुरक्षा र जनविश्वास कायम राख्न सरकारलाई सुझाव दिएका थिए ।

प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले निर्वाचनलाई “राजनीतिक स्थायित्व र सहअस्तित्वको साझा यात्रा” का रूपमा चित्रण गर्दै दलहरूलाई भ्रम र द्धिविधाबाट बाहिर ननिस्किए देश अनिश्चिततामा फस्ने चेतावनी दिएका थिए ।

बैठकमा सहभागी नेताहरूले निर्वाचनप्रतिको प्रतिबद्धता दोहोर्‍याए तापनि सुरक्षा व्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनीहरूले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न सकिने वातावरण बनाउनु सरकारले पहिलो दायित्व हो भन्दै शंका–संसय हटाउन माग गरे ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले “दलहरूको सहभागिता र विश्वासबिना निर्वाचन सम्भव हुँदैन” भन्दै निष्पक्ष, स्वतन्त्र र सुरक्षित वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

राष्ट्रपतिले हालको असन्तुष्टि व्यक्त गरिरहेका जेन–जी युवालाई पनि “देशका आफ्नै छोरा–नाति”का रूपमा बुझ्दै, उनीहरूको पीडा र प्रश्नलाई सुनेर लोकतान्त्रिक मार्गमै समाधान खोज्न राजनीतिक दलहरूलाई सुझाएका थिए ।

बैठकमा सहभागी दलका प्रतिनिधिहरू-कांग्रेसका पूर्णबहादुर खड्का र गगन थापा, एमालेका ईश्वर पोखरेल र शंकर पोखरेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, रास्वपाका डीपी अर्याल र विपिन आचार्य, राप्रपाका ज्ञानेन्द्र शाही र मिना लामा, समाजवादी दलहरू, जनमत, लोसपा, नागरिक उन्मुक्ती र मजदुर किसान पार्टीका शीर्ष नेताहरू — सबैले निर्वाचनलाई लोकतान्त्रिक निरन्तरताको साझा अवसरका रूपमा लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !