घोराहीमा खसी अभाव : मासु पसल अनिश्चितकालका लागि बन्द
प्रकाशित मिति : 11 October, 2025 2:46 pm
दाङ । खसीको अभाव बढेसँगै घोराहीका मासु पसलहरू अनिश्चितकालका लागि बन्द भएका छन्। खसी मासु व्यवसायी समिति घोराहीका अध्यक्ष असलाम कुरेशीका अनुसार छिमेकी बजारमा प्रतिकिलो मूल्य एक हजार रुपैयाँ पुगेपछि किसानहरूले बाहिरी बजारमा खसी बेच्न थालेका हुन्, जसका कारण स्थानीय बजारमा आपूर्ति घटेको हो ।
गत असोज २२ गते बसेको समितिको बैठकले शनिबारदेखि मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो तर जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि व्यवसायीहरू आन्दोलित बनेका छन् ।
चाडपर्व नजिकिँदै गर्दा मासु पसलहरू बन्द हुँदा उपभोक्ताहरूलाई आवश्यक वस्तु किन्न कठिनाइ भएको छ। व्यवसायीहरूले तत्काल समाधानका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।








