जेनजी आन्दोलनपछि शान्ति पुनःस्थापनाको आह्वानसहित एमालेको प्रदर्शन
दाङ । नेकपा एमाले दाङले जेनजी आन्दोलनपछि शान्ति र स्थायित्व पुनःस्थापनाको सन्देशसहित घोराहीमा प्रदर्शन गरेको छ। ‘शान्ति पुनर्निर्माण र राष्ट्रिय एकता जागरण’ नारासहित भएको प्रदर्शनमा एमालेका २३ जनवर्गीय संगठनको सहभागिता रहेको थियो।
ट्राफिक चोकबाट सुरू भएको प्रदर्शन घोराही बजार परिक्रमा गर्दै तुलसीपुर चोकमा कोणसभामा परिणत भएको थियो। कोणसभामा जनवर्गीय समन्वय संयन्त्रका इन्चार्ज मनोहर बुढाथोकीले पार्टीको संगठनात्मक शक्ति अझ सुदृढ भएको दाबी गर्दै, एमालेलाई कमजोर नठान्न र सरकारलाई प्रतिशोधको राजनीतिबाट टाढा रहन आग्रह गरे।
राष्ट्रिय युवा संघका अध्यक्ष विवेक योगीले जेनजीका मागहरूलाई युवामैत्री रूपमा सम्बोधन गर्न सकिने बताएका छन्। तर, उनले आन्दोलनका नाममा तोडफोड, लुटपाट र आगजनी जस्ता गतिविधि स्वीकार्य नहुने चेतावनी दिए। राज्यले दोषीमाथि कारबाही नगरे युवा संघले प्रतिकार गर्ने चेतावनीसमेत उनले दिए।
एमाले नेतृत्वले यस प्रदर्शनलाई जेनजी आन्दोलनपछि समाजमा शान्ति, सहमति र पुनःसंयमको सन्देश फैलाउने अभियानका रूपमा चित्रण गरेको छ।








