१९ मंसिर २०८२, शुक्रबार
कैदी खाेज्दै प्रहरी

जेन-जी आन्दाेलन : अझै ५ हजार कैदी फरार, सुरक्षा संवेदनशीलतामा गम्भीर खतरा

प्रकाशित मिति :  13 October, 2025 7:02 am


दाङ । ‘जेन–जी’ आन्दोलनको अराजक अवस्थापछि भागेका कैदीबन्दीमध्ये अझै ५ हजार ५ सय ४७ जना फरार रहँदा देशको सुरक्षा प्रणाली नै प्रश्नमा परेको छ । कारागार व्यवस्था विभागका अनुसार १४ हजारभन्दा बढी फरारमध्ये ९ हजार ८ जना मात्र फिर्ता भएका छन् ।

फरार कैदीहरूको ठूलो संख्या अझै पत्ता नलाग्नुले प्रहरीको खोजी र निगरानी क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । गृह मन्त्रालयले गठन गरेको कार्यदलले खोजी कार्य जारी राखेको दाबी गरे पनि ठोस परिणाम नदेखिनुले सरकारको सुरक्षातर्फको तयारी कमजोर रहेको टिप्पणी भइरहेका छन् ।

सुरक्षा विशेषज्ञहरूका अनुसार लामो समयसम्म कैदी फरार रहँदा आपराधिक गतिविधि बढ्ने, सीमापार अपराधमा संलग्नता हुने र स्थानीय स्तरमा आतंक फैलने खतरा बढेको छ ।

विभागले फरार कैदीहरूको नाम र विवरण सार्वजनिक गरे पनि नियमन र सूचना प्रणाली कमजोर रहँदा उनीहरू पत्ता लगाउन चुनौती भइरहेको छ ।

यस्तै, कारागारहरूको संरचनागत कमजोरी र आन्तरिक सुरक्षा तयारी अभावले भविष्यमा पनि यस्ता घटना दोहोरिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !