१९ मंसिर २०८२, शुक्रबार
आफन्तकाे पर्खाइ

विपिन जोशीका आफन्त भन्छन् : हामी अझै आशामा छौँ, अहिले नै ‘जीवित छैनन्’ भन्न मिल्दैन

प्रकाशित मिति :  13 October, 2025 1:31 pm


काठमाडाैँ । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाबारे आज परिवारजन, इजरायलस्थित नेपाली दूतावास र इजरायली डिफेन्स फोर्स (आइडिएफ) बीच भिडियो कन्फरेन्समार्फत छलफल भएको छ ।

उक्त भिडियो कन्फरेन्समा सहभागी विपिनका दाइ किशोर जोशीका अनुसार आज गाजाबाट मुक्त गरिन लागेका २० जना बन्धकको सूचीमा विपिनको नाम नरहेको इजरायली पक्षले जानकारी दिएको हो ।

“आज छुट्ने लिष्टमा विपिनको नाम छैन, तर इसरायली अधिकारीहरूले निरन्तर अपडेट दिने आश्वासन दिएका छन्,” किशोरले भने, “अहिले छुट्ने सूचीमा नरहे पनि हामी उहाँ सकुशल फर्किनेमा पूर्ण आशावादी छौँ।”

जोशीका अनुसार भिडियो कन्फरेन्समा इजरायली अधिकारीहरू, अमेरिकाबाट विपिनकी आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित र आफूसहितका पारिवारिक सदस्यहरू सहभागी थिए ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय मिडियामा विपिनको नाम जीवित बन्दीहरूको सूचीमा नपरेको खबर प्रकाशित भएका थिए । तर परिवारजनले भने अर्को चरणमा हुने बन्धी साटासाट प्रक्रियामा विपिनको नाम आउन सक्ने आशा व्यक्त गरेका छन् ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा विपिन जोशी अपहरणमा परेका थिए । त्यसयता उनको अवस्थाबारे ठ्याक्कै जानकारी नआए पनि नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र परिवारजन निरन्तर खोजी र उद्धार प्रयासमा छन् ।

विपिनका आमा र बहिनी हाल अमेरिकामा रहेर अन्तर्राष्ट्रिय सहयोगका लागि पहल गरिरहेका छन् भने उनका बुवा महानन्द जोशी महेन्द्रनगरमै रहेर छोराको सकुशल फर्किने प्रतीक्षामा छन् ।

दुई वर्षको अवधिमा हमासले युद्धविराम सम्झौताअन्तर्गत २०० भन्दा बढी बन्धकहरू मुक्त गरिसकेको भए पनि नेपाली विद्यार्थी विपिन जोशी अझैसम्म फर्किन नसक्दा उनको परिवार र सम्पूर्ण देशले चिन्ता र प्रतीक्षाको घडी व्यतीत गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !