सुनको मूल्यमा फेरि नयाँ रेकर्ड : तोलामा ८ हजार १ सयले बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । आज मंगलबार एकैदिन तोलामा ८ हजार १ सय रुपैयाँले वृद्धि भई नयाँ उच्च स्तरमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबारसम्म यो मूल्य २ लाख ४० हजार ४ सय रुपैयाँमा सीमित थियो ।
यसरी एकैदिनको मूल्यवृद्धिले सुन खरिद गर्ने उपभोक्तालाई थप दबाब पारेको छ भने व्यवसायीहरूका लागि पनि बजार अनिश्चित बन्दै गएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । हिजो ३ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले बढेर ३ हजार ३३५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
विश्व बजारमा अमेरिकी डलरको मजबुती, मध्यपूर्वको तनाव र लगानीकर्ताहरूको सुरक्षित लगानीप्रतिको आकर्षणले सुनको मूल्य बढ्दै गएको विश्लेषकहरू बताउँछन् । नेपाली बजारमा यसको प्रत्यक्ष असर देखिँदै गएको छ, जसले लगातार सुनको मूल्यलाई नयाँ उचाइमा पुर्याइरहेको छ ।








