निर्णायक मोडमा नेकपा : भूमिगतबाट व्यवस्थागत राजनीतितर्फ, दल दर्ताबारे निर्णय हुँदै
कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समिति बैठकले खोल्दैछ विप्लव नेतृत्वको रणनीतिक दोधार
दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ हाल आफ्नै राजनीतिक यात्राको निर्णायक मोडमा छन् । कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समिति बैठकले पार्टीको भविष्यको बाटो तय गर्ने तयारी गर्दैछ तर बाटो दुईवटा छन्, गन्तव्य एउटै होइन ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बैठकमा पार्टी एकता गर्ने कि दल दर्ता गरेर अगाडि बढ्ने भन्ने दुईवटा विषयमा छलफल केन्द्रीत भइरहेकाे बताए । उनले लुम्बिनी सञ्चारसँगकाे कुराकानीमा भने, “पार्टी एकता गरेर जाने मत त देखिएको छ, तर दल दर्ता गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने मत अहिले बलियो बनेको छ।”
रणनीतिक मोड
गत आइतबारदेखि निरन्तर चलिरहेको बैठकमा पार्टीभित्रको द्विविधा स्पष्ट देखिएको छ । एकातिर माओवादी केन्द्रसहित विचार मिल्ने वाम घटकसँग पुनः एकता गर्ने प्रस्ताव छ, अर्कातिर भने बदलिँदो राजनीतिक परिवेशमा अलग दल दर्ता गरेर निर्वाचनका लागि तयारी गर्नुपर्ने तर्क पनि छ ।
महासचिव विप्लवले बैठकको सुरुमै राजनीतिक प्रस्तावसहितको धारणा राखेका थिए । त्यसपछि ७७ वटै जिल्लाका इञ्चार्ज र केन्द्रीय सदस्यहरूले अध्ययनपछि आफ्ना विचार राखिरहेका छन् ।
नेकपाले यसअघि नै दल दर्ताको सम्भावना अध्ययन गर्न कार्यदल गठन गरेको थियो । स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिमा चिरञ्जीवी ढकाल र कपिल पोखरेल सदस्य छन् ।
समितिले निर्वाचन आयोगमा दर्ता प्रक्रियाको कानुनी र प्राविधिक पक्षबारे सुझाव पेस गर्ने जिम्मेवारी पाएको थियो तर माओवादी केन्द्रसँगको सम्भावित एकता र त्यसबाट हुने राजनीतिक प्रभावबारे अझै मतैक्य हुन सकेको छैन ।
माओवादी केन्द्रले एक वर्षअघि नै विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो तर त्यो निर्णय कार्यान्वयन हुन नसक्दा अब नेकपाभित्र ‘अब अलग बाटो रोज्ने कि पुरानो प्रतिज्ञा दोहोर्याउने ?’ भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ।
आन्तरिक संवाद र निर्णायक दिन
बैठकमा केही नेताहरूले अहिलेको राजनीतिक यथार्थलाई ध्यानमा राख्दै वाम एकता गरेर जानु उपयुक्त हुने सल्लाह दिएका छन् । अर्कातर्फ, निर्वाचनको मिति नजिकिँदै गर्दा ‘दल दर्ता नगरी चुनावी मैदानमा उत्रन नसकिने’ भन्ने व्यावहारिक पक्षले बहसलाई बढी तातो बनाएको छ।
पार्टीका एक अर्का केन्द्रीय सदस्य भन्छन्, “विचारमा नजिक रहेका दलहरूसँग सहकार्य गर्न सकिन्छ तर अस्तित्व सुरक्षित राख्न दल दर्ता अत्यावश्यक छ ।” आज बैठक सक्ने तयारी भए पनि अन्तिम निर्णय भने गहिरो छलफलपछि मात्र सार्वजनिक हुने बताइएको छ।
विप्लवको ‘संक्रमणकालीन’ राजनीति
विप्लव नेतृत्वको नेकपा अहिले आन्दोलनवादी भूमिकाबाट व्यवस्थागत राजनीतितर्फ प्रवेशको दारमा उभिएको छ । यही संक्रमणले पार्टीभित्र नयाँ सोच र पुराना सिद्धान्तबीचको द्वन्द्वलाई उजागर गरिरहेको छ ।
यदि पार्टीले निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय लिन्छ भने, यो विप्लव समूहको भूमिगत राजनीति अन्त्यको संकेत हुनेछ तर यदि वाम एकताको बाटो रोजिन्छ भने, माओवादी केन्द्रसँगको सहकार्यले नयाँ वाम समीकरण जन्माउन सक्छ, जसले नेपालको बाँकी वाम राजनीति पुनः परिभाषित गर्न सक्ने सम्भावना पनि राख्छ ।
शिवगढीको यो बैठक त्यसैले मात्र एउटा नियमित संगठनात्मक बैठक होइन, यो विप्लव नेतृत्वको भविष्यको दिशानिर्देश तय गर्ने ऐतिहासिक क्षण हो ।








