१९ मंसिर २०८२, शुक्रबार
कांग्रेसकाे धारणा

कांग्रेसको दोहोरो नीति : संसद पुनर्स्थापना र चुनाव दुवैमा ध्यान

प्रकाशित मिति :  15 October, 2025 1:59 pm


काठमाडौँ । नेपाली कांग्रेसले वर्तमान राजनीतिक संकटको निकासका लागि संसद् पुनर्स्थापना र ताजा जनादेश दुवै विकल्प खुला राख्ने अडान लिएको छ ।

बुधबार सभामुख देवराज घिमिरेले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, “शान्ति–सुरक्षा र भयरहित वातावरण बने ताजा जनादेशमा जान हामीलाई आपत्ति छैन। कांग्रेस भाग्दैन, तर वातावरण बनाउनेतिर सरकार गम्भीर छैन।”

उनले जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाको समाधानका लागि संसद् पुनर्स्थापना वा चुनाव दुईमध्ये कुनै एक बाटो अवलम्बन गर्नुपर्ने बताए।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि कांग्रेस समेत सहभागी रहेको केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते संसद् विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो।

कांग्रेसले उक्त प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै संवैधानिक मार्गबाटै निकास खोजिनुपर्ने बताएको छ। प्रमुख सचेतक घिमिरेले भने, “न्यायिक परीक्षण हुनेछ, तर अहिलेका लागि संसद् पुनर्स्थापना वा चुनाव नै व्यावहारिक निकास हुन्।”



प्रतिक्रिया दिनुहोस !