१९ मंसिर २०८२, शुक्रबार
निर्वाचन तयारी

फागुन २१ गते चुनाव : निर्वाचन आयोगको दलहरूसँग छलफल, तयारीमा जुट्न आग्रह

प्रकाशित मिति :  16 October, 2025 3:43 pm


प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सम्बन्धमा राजनीतिक दलसँग निर्वाचन आयोगले काठमाडौँमा बिहीबार आयोजना गरेको छलफल तथा अन्तरक्रियामा सहभागीहरु । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीको प्रारम्भिक छलफल आज राजनीतिक दलहरूसँग गरेको छ ।

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगै, पछिल्लो पालिका चुनावमा कम्तीमा एक वडा सदस्य जितेका राजनीतिक दलहरूलाई समेत आयोगले छलफलमा आमन्त्रण गरेको थियो ।

आजको छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल, नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेसहित विभिन्न दलका प्रतिनिधिहरू सहभागी भएका थिए ।

छलफलका क्रममा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेकोले सबै दलले अब चुनावी वातावरण सुदृढ पार्न र तयारीमा जुट्नुपर्ने बताए । उनले निष्पक्ष, पारदर्शी र विश्वासिलो निर्वाचन सुनिश्चित गर्न आयोग जिम्मेवार रहेको उल्लेख गर्दै सबै दलको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि राजनीतिक अस्थिरता चर्किएपछि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । सोही सरकारको निर्णयअनुसार प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते नयाँ निर्वाचन मिति तोकिएको हो ।

आयोगले अब छिट्टै निर्वाचन आचारसंहिता, मतदाता नामावली अद्यावधिक र दल दर्ता सम्बन्धी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !