१९ मंसिर २०८२, शुक्रबार
निर्वाचन तयारी

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको कूटनीतिक ‘ब्रिफिङ’ आज सिंहदरबारमा हुँदै

प्रकाशित मिति :  17 October, 2025 8:47 am


काठमाडौँ । जेन–जी आन्दोलनपछि सत्तारोहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित कूटनीतिक निकायहरूसँग पहिलो पटक औपचारिक छलफल गर्न लागेकी छिन् ।

उनले नेपालको समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचन तयारीबारे ‘ब्रिफिङ’ गर्न सिंहदरबारमा दिउँसो साढे २ बजे बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख र विदेशी राजदूतहरू सहभागी हुनेछन् ।

बैठकमा कार्कीले आन्तरिक सरकारको तर्फबाट २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन, राजनीतिक संवादको अवस्था र आगामी कूटनीतिक सम्बन्धका प्राथमिकताबारे जानकारी दिनेछिन् ।

यो बैठक प्रधानमन्त्री कार्कीको कार्यकालको पहिलो ठूलो कूटनीतिक ‘ब्रिफिङ’ हो, जसलाई आगामी निर्वाचनका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायलाई सन्देश दिने अवसरका रूपमा हेरिएको छ ।

तर, मिति नजिकिँदै जाँदा निर्वाचनको वातावरण बनाउन सरकारलाई चुनौती थपिएको छ । कार्कीले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन्, जसका कारण प्रशासनिक संयन्त्रमा अनिश्चितता देखिएको छ ।

यसअघि निर्वाचन आयोगले दलहरूसँग प्रारम्भिक छलफल गरिसकेको भए पनि सरकारले ठोस तयारी नदेखाएको भन्दै राजनीतिक वृत्त र नागरिक समाजले आलोचना गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !