सुनको मूल्यमा भारी वृद्धि : प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुग्यो
काठमाडौँ । कार्तिक महिनाको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन सात हजार एक सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बिहीबार प्रतितोला दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार बढेर दुई लाख ५८ हजार रुपैयाँमा पुगेको हो ।
दशैँअघि असोज १२ गते सुन प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा झरेको थियो भने दशैँ अवधिभर दुई लाख ३० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसपछि असोज १९ गतेदेखि सुनको मूल्य निरन्तर उकालो लागेको छ । असोज मसान्तसम्म आइपुग्दा सुन प्रतितोलामा कुल ३४ हजार आठ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ । बिहीबार प्रतितोला तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तीन हजार तीन सय ५० रुपैयाँ पुगेको छ ।
दशैँअघि असोज १२ गते प्रतितोला दुई हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य असोज मसान्तसम्म आइपुग्दा पाँच सय ४० रुपैयाँले बढेको छ ।
सुनचाँदी दुवैको मूल्य वृद्धिले बजारमा लगानीकर्ताहरूको चासो बढाएको देखिन्छ । विशेषज्ञहरूले यो वृद्धि अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र स्थिर विनिमय दरको प्रभाव भएको बताएका छन् ।








