‘विप्लव’ को नयाँ बाटो : पुराना विवाद छाड्दै वाम पुनर्गठनको प्रयास
काठमाडौँ । लामो समय भूमिगत राजनीति र विचारगत द्वन्द्वमा केन्द्रित रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब नयाँ राजनीतिक बाटोतर्फ मोडिँदै छ ।
कपिलवस्तुमा सम्पन्न केन्द्रीय बैठकले महासचिव विप्लवकै नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्ने निर्णय गर्दै वाम पुनर्गठनको संकेत दिएको छ।
बैठकमा विप्लवले प्रस्तुत गरेको आठ पृष्ठ लामो राजनीतिक दस्तावेज-‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ पार्टीको नयाँ दिशाको आधार बनेको बताइन्छ ।
उक्त दस्तावेजमा उनले पुरानो भूमिगत संघर्षको स्वरूपलाई पुनर्मूल्यांकन गर्दै अबको प्राथमिकता संगठनात्मक एकता, जनसंघर्ष र वैचारिक स्पष्टता हुने बताएका छन् ।
पार्टीका एक केन्द्रीय सदस्यका अनुसार बैठकले वाम आन्दोलनमा उत्पन्न बिखण्डन र जनविश्वास पुनःआर्जन गर्न “नयाँ राजनीतिक केन्द्र” आवश्यक भएको निष्कर्ष निकालेको छ। उनका शब्दमा, “हामी अब केवल प्रतिरोध होइन, निर्माणको बाटोमा छौं ।”
माओवादी केन्द्रसँग सम्भावित एकताको विषय पनि छलफलमा आएको बैठकले जनाएको छ । पार्टी माओवादी केन्द्रसँग विचार र आन्दोलनका साझा एजेन्डामा छलफलका लागि खुला र सकारात्मक रहेको छ।
राजनीतिक विश्लेषकहरूले विप्लवको यो कदमलाई ‘संघर्षबाट संरचनातर्फको यात्रा’ भन्दै व्याख्या गरेका छन् । उनीहरूका अनुसार अहिलेको निर्णयले विप्लव समूहलाई पुनः मुख्यधारको वाम राजनीतिमा प्रवेश गर्ने ढोका खोलिदिएको छ ।
बैठकका सम्पूर्ण निर्णय र आगामी कार्यक्रम कार्तिक २ गते काठमाडौँमा हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नेकपाले जनाएको छ।
यससँगै नेपाली वाम राजनीतिमा लामो समय विभाजित रहेका धारा फेरि एउटै गोलमा आउन सक्ने सम्भावना बलियो देखिएको छ र यसको नेतृत्व ‘विप्लव’ले लिने संकेत स्पष्ट हुँदै गएको छ ।








