१९ मंसिर २०८२, शुक्रबार

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय

प्रकाशित मिति :  17 October, 2025 7:21 pm


काठमाडौँ । नेकपा (एमाले) ले ११औँ महाधिवेशनको मिति तय गरेको छ। बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारहरूलाई जानकारी दिँदै भने, “केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ।”

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति र राजनीतिक दिशा समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए। सो प्रतिवेदन बहुमतले पारित भए पनि पारित गर्ने क्रममा केही मतभेद देखा परेका थिए ।

उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले केही धारणा फरक राख्दै प्रतिवेदनका केही बुँदामा असहमति जनाएका थिए । बैठकमा संगठन सुदृढीकरण, आगामी निर्वाचन तयारी, युवाको नेतृत्व समावेश र वैचारिक दिशासम्बन्धी विषयमा समेत गहन छलफल भएको थियो । महाधिवेशनलाई एमालेले ‘पार्टी एकता र रूपान्तरणको नयाँ मञ्च’का रूपमा हेरेको जनाएको छ।

पार्टीका शीर्ष नेताहरूका अनुसार महाधिवेशनले पार्टी नेतृत्वको नयाँ पुस्तागत संक्रमण र नीति पुनर्संरचनाको सन्देश दिने अपेक्षा गरिएको छ। पोखरामा हुने यो महाधिवेशन एमालेको आगामी राजनीतिक यात्राको निर्णायक मोडका रूपमा लिइएको छ।



प्रतिक्रिया दिनुहोस !