रुकुमपूर्वको रानिकोट–किटनी खण्ड बन्द : यात्रु वैकल्पिक बाटोतर्फ
मध्यपहाडी लोकमार्गमा बाँकी काम तीव्र गर्न कार्तिक १२–३० सम्म सडक बन्द : स्थानीय असहजता सहँदै दीर्घकालीन सुविधाको अपेक्षा
दाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुमपूर्वको रानिकोट–किटनी सडकखण्ड १९ दिनका लागि बन्द हुने भएको छ । सडक निर्माणको अन्तिम चरणका काम तीव्रगतिमा सम्पन्न गर्न यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार, आयोजना पक्षले बाँकी काम छोटो समयमा पूरा गर्न सवारी सञ्चालन बन्द गर्नुपर्ने प्रस्ताव गरेपछि प्रशासनले अनुमोदन गरेको हो । “निर्धारित अवधिमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइनेछ,” प्रमुख जिल्ला अधिकारी परियारले भनिन् ।
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियरहरूका अनुसार सडकको केही भागमा पक्कीकरण, ढल निकास, र सुरक्षा पर्खाल निर्माण जस्ता काम बाँकी रहेका छन् । ती काम सकेपछि सडक स्थायी रूपमा सञ्चालनयोग्य हुने जनाइएको छ ।
सडक बन्दका कारण रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा आवागमन प्रभावित हुने भएकाले प्रशासनले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
ठूला सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत मार्ग र साना सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
स्थानीय बासिन्दाहरूले सडक बन्दले असुविधा हुने भए पनि दीर्घकालीन सुविधाका लागि छोटो समयको असहजता स्वीकार्य भएको बताएका छन् । उनका अनुसार “यो सडक पुरा भएपछिको यात्रा सहज र सुरक्षित हुनेछ ।”








