रुपन्देहीमा अगरबत्ती उद्योगमा भीषण आगलागी : तीन घण्टापछि नियन्त्रणमा
विद्युत् सर्टबाट आगो लागेको अनुमान, करिब दुई करोडभन्दा बढीको क्षति
रुपन्देही । आज बिहान सबेरै करिब ५ बजेतिर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ भैयाटोल (चित्रगुप्त पथ) मा रहेको न्यू जय अम्बे अगरबत्ती तथा पूजासामग्री प्याकेजिङ उद्योग अचानक आगोको लप्काले घेरियो । केही मिनेटमै धुवाँले पूरा क्षेत्र ढाकियो र स्थानीयहरू घरबाट बाहिर निस्कँदै “आगो लाग्यो, उद्योग जल्दैछ !” भनेर कराउँदै थिए ।
प्रारम्भिक अनुमानअनुसार, विद्युत् सर्टका कारण आगो लागेको हो । उद्योगभित्र सञ्चालित सयौं किलो अगरबत्ती, धूप, तेल, नगद, कम्प्युटर, सिसिटिभी क्यामेरा र मेसिनहरू केही मिनेटमै खरानी बने ।
उद्योगका सञ्चालक श्रीराम गुप्ताका अनुसार करिब रुपैयाँ दुई करोड ३२ लाख बराबरको क्षति भएको छ । उनी भन्छन्, “आगो निभाउने कोशिश गर्याैँ तर केही पनि बचाउन सकेनौं । यो हाम्रो वर्षौँको मेहनत र पसिना हो, सबै जल्यो ।”
स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसँगै सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाको दमकलले आगो निभाउने प्रयासमा तीन घण्टा बित्यो । बिहान ८ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको हाे ।








