देशकाे संकट टार्न वामपन्थी एकता अब अपरिहार्य-अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर राष्ट्रिय संकटमा परेको भन्दै वृहत् वामपन्थी एकता अपरिहार्य भएको बताएका छन् ।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र जनताका मुद्दा सफल पार्न वामपन्थी एकता अत्यावश्यक भएको बताए। उनका अनुसार समाजवादी मोर्चामा आवद्ध दलहरू छिट्टै एकता घोषणाको तयारीमा छन् ।
उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको मुद्दा सफल पार्न हामी एकातिर वृहत् वामपन्थी एकताको आवश्यक महसुस गरेका छौँ। समाजवादी मोर्चामा आवद्धहरू छिट्टै एकता घोषणाको तयारीमा छन्, तर त्यतिले मात्रै पुग्दैन।”
दाहालले देशको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र स्थायित्वका लागि सबै वामपन्थी शक्ति मिल्नुपर्नेमा जोड दिए। उनले हालको अवस्था विगतकै सबैभन्दा ठूलो संकट भएको टिप्पणी गर्दै भने, “राष्ट्र यति ठूलो संकटमा पहिले कहिल्यै देखेका थिएनौँ। यो राष्ट्रिय संकट, राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अब राष्ट्रिय एकता अनिवार्य छ।” उनले वामपन्थी मात्र होइन, देशभक्त लोकतान्त्रिक शक्तिहरूसँग पनि मोर्चाबन्दी गर्दै अघि बढ्ने तयारी भइरहेको बताए।








