१९ मंसिर २०८२, शुक्रबार

काँग्रेसमा विशेष महाधिवेशनको माग तीव्र : केन्द्रिय समिति म्याद थप्नेतर्फ, महाधिवेशन टार्न खोज्दै

हस्ताक्षरकर्ताहरूको आरोप-केन्द्रिय समिति अस्वाभाविक रूपमा बैठक लम्ब्याउँदै, मंसिर मसान्तभित्र नयाँ नेतृत्व चयन गर्नुपर्ने माग
प्रकाशित मिति :  19 October, 2025 12:10 pm


काठमाडौँ । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ। पार्टीका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पार्टी महाधिवेशन अविलम्ब गर्न माग गरेका छन् ।

हस्ताक्षर पक्षधरहरूले केन्द्रिय समितिले बैठकलाई अस्वाभाविक रूपमा लम्ब्याएर महाधिवेशन टार्ने प्रवृत्ति देखाएको आरोप लगाए ।

महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रिय समितिको अनिश्चित बैठक र निष्क्रियताले पदाधिकारीहरू आफ्नो म्याद थप्ने तयारीमा लागेको संकेत गरेको बताए ।

‘‘केन्द्रिय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ,’‘ आचार्यले भने, ‘‘कुनै कारण देखाएर महाधिवेशन टार्ने र प्रतिनिधिहरूको अवमूल्यन गर्ने कार्य स्वीकार्य हुँदैन।‘’ उनले १४औं महाधिवेशनबाट निर्वाचित समितिले पार्टीलाई सशक्त बनाउन असफल भएको र वर्तमान नेतृत्वले अब वैधानिकता गुमाएको टिप्पणी गरे।

आचार्यका अनुसार, ‘‘पार्टीलाई नयाँ धार र दिशा दिन आगामी मंसिरभित्र विशेष महाधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्नु आजको आवश्यकता हो।’‘ उनले विशेष महाधिवेशनलाई वैधानिक, समयसापेक्ष र स्वाभाविक मागको रूपमा व्याख्या गर्दै कार्यान्वयनका लागि नेतृत्वलाई सचेत गराए।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले पनि मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिए। उनले भदौ २३ र २४ का तोडफोड, आगजनी र लुटपाटका घटनालाई निन्दनीय बताउँदै आफूहरू ती घटनाका पक्षधर नभएको स्पष्ट पारे।

‘‘ती घटनाले हामीलाई सधैं बिझाइरहनेछ,’‘ घिमिरेले भने, ‘‘हामी तोडफोड र आगजनीका पक्षमा छैनौं। त्यो घटनाले विश्व राजनीतिमा एउटा अस्वाभाविक उदाहरण खडा गर्‍यो। अब पार्टीले आत्ममूल्यांकन गरेर नयाँ बाटो लिनुपर्छ।‘’

उनका अनुसार, २०४६ सालदेखि नेतृत्वका क्रममा भएका कमजोरीहरूलाई स्वीकार्दै अब सुधारका साथ अघि बढ्न जरुरी छ। गत असोज २९ गते काँग्रेसका १४औं महाधिवेशनका २ हजार ४८८ प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित विशेष महाधिवेशनको मागपत्र बुझाएका थिए। उनीहरूले पार्टी विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन बोलाउन माग गरेका हुन्।

हस्ताक्षरकर्ताहरूका अनुसार, बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई गतिशील बनाउन र जनतासँग पुनः जोडिन यही नै उचित बाटो हो।



प्रतिक्रिया दिनुहोस !