१९ मंसिर २०८२, शुक्रबार

तिहारभित्रै ठूला उद्योगमाथि ‘विद्युत काट अभियान’ सम्भावना : प्राधिकरण कडा बनेको संकेत

प्रकाशित मिति :  20 October, 2025 12:42 pm


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न अटेर गरिरहेका उद्योगहरूमाथि कडा कदम चाल्ने तयारी गरेको छ। तिहार अवधिमै पनि डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत् विद्युत उपभोग गर्ने तर किस्ता नतिर्ने उद्योगको लाइन काटिने चेतावनी दिइएको छ।

कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हालसम्म १३ उद्योगले किस्ता बुझाइसकेका छन्, तर अझै २५ उद्योगले कुनै रकम तिरेका छैनन् । “तोकिएको अवधिभित्र रकम नबुझाउने उद्योगमाथि जतिबेला पनि लाइन काट्न सकिन्छ,” उनले चेतावनी दिए।

प्राधिकरणले उद्योगीहरूलाई २८ महिनासम्मको किस्ताबन्दी सुविधा दिएको छ । यसअन्तर्गत हामा आइरन एण्ड स्टील, लक्ष्मी स्टील, सर्वोत्तम सिमेन्ट, हुलास स्टील, अशोक स्टीललगायतले लाखौं रुपैयाँ बुझाइसकेका छन् । केही उद्योगले भने एकै पटक पाँच किस्ता बराबरको रकम तिरेका छन् ।

तर अझै बक्यौतामा रहेका उद्योगहरूका लागि यो तिहार सजिलो नहुने प्राधिकरणले संकेत गरेको छ। सिलवालले भने, “विद्युत् प्रयोग गरेर लाभ लिने तर बिल नतिर्ने प्रवृत्तिलाई अब समाप्त पारिन्छ ।”

यो कठोर कदमलाई औद्योगिक क्षेत्रले चेतावनीका रूपमा लिएको छ, भने प्राधिकरणले यसलाई ‘बक्यौता संस्कृतिविरुद्धको निर्णायक पहल’ मानेको छ।



प्रतिक्रिया दिनुहोस !