१९ मंसिर २०८२, शुक्रबार

इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर स्वदेश ल्याइयो

प्रकाशित मिति :  20 October, 2025 5:08 pm


दाङ । इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर सोमबार नेपाल ल्याइएकाे छ । दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको शवमा प्रधानमन्त्री सुशिला कार्की सहित उच्च पदस्थ व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरे ।

प्रधानमन्त्री कार्कीले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । विमानस्थलमा आयोजित शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र नेपालका लागि इजरायली राजदूत लगायतको उपस्थिति थियो ।

जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन र कामका लागि इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा १० नेपाली विद्यार्थी सहित १ हजार २ सय जनाको ज्यान गएको थियो ।

साथीहरूको ज्यान बचाउन विपिनले साहसपूर्वक लडाकुले फ्याँकेको ग्रिनेड टिपेर बाहिर फ्याँकेका थिए । त्यसपछि उनी हमासको नियन्त्रणमा परेका २५१ जनामध्ये एक थिए ।

लामो समयदेखि बेपत्ता रहेका उनलाई गत असोज २७ गते इजरायली अधिकारीहरूले मृत घोषणा गरेका थिए । नेपाल सरकारका तर्फबाट जोशीको परिवारप्रति गहिरो श्रद्धाञ्जली र समवेदना प्रकट गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !