१९ मंसिर २०८२, शुक्रबार

सभामुख घिमिरेको शुभकामना : नेपाल सम्वतले एकता, सुशासन र आत्मनिर्भरताको चेतना जगाओस्

प्रकाशित मिति :  22 October, 2025 7:42 am


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले देशमा सुशासन, पारदर्शिता र सहकार्यको भावना बलियो पार्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्षको अवसरमा उहाँले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्दै नेपालको समृद्ध र सुशासित भविष्य निर्माणमा साझा प्रतिबद्धताको आवश्यकता औंल्याएका हुन् ।

सभामुख घिमिरेले जारी गर्नुभएको शुभकामना सन्देशमा नेपाल सम्वत् केवल नयाँ वर्षको आरम्भ मात्र नभई नेपालीहरूको स्वाभिमान, स्वतन्त्रता र ऐतिहासिक पहिचानको प्रतीक भएको उल्लेख गरिएको छ।

उनले भनेका छन्, “राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणग्रस्त जनतालाई मुक्त गराई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गर्नुभएको ऐतिहासिक योगदानले नेपाल सम्वतलाई नेपाली गौरवको प्रतीक बनाएको छ।”

सभामुखले हालैका युवापुस्ताद्वारा उठाइएका सुशासन र भ्रष्टाचारविरुद्धका आवाजलाई देशको भविष्यप्रति नयाँ संकल्पका रूपमा लिनुपर्ने बताएका छन्। उनले जोड दिएका छन्, “ती अपेक्षाहरू पूरा गर्न साझा प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्व अपरिहार्य छ।”

सन्देशमा सभामुखले हालको राजनीतिक संक्रमण र सामाजिक अस्थिरता बीच युवा, राजनीतिक दल, सरकार र नागरिक समाजबीच सहकार्य र संवाद नै स्थायित्वको आधार बन्ने विश्वास व्यक्त गरेका छन् । उनले मुलुकमा शान्ति, स्थायित्व र विकास सुनिश्चित गर्न सबै पक्षले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल सम्वतको ऐतिहासिक र सांस्कृतिक पक्षलाई स्मरण गर्दै सभामुखले यस पर्वले विविधतामाथि एकताको भावना बलियो पारोस्, सहिष्णुता र सामाजिक सद्भाव अभिवृद्धि गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत् भनेका छन्, “यो नयाँ वर्षले सबै नेपालीलाई ऋणमुक्त, आत्मनिर्भर र समृद्ध जीवनतर्फ प्रेरित गरोस्-यही हो हाम्रो साझा कामना।”



प्रतिक्रिया दिनुहोस !