एमाले महासचिव पोखरेलको चेतावनी : केही मन्त्रीहरूको व्यवहार तत्काल नियन्त्रणमा लिइयाेस्
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्ने बताए ।
बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकपछि पोखरेलले पार्टीको औपचारिक धारणा सार्वजनिक गर्दै केही मन्त्रीहरूको असंगत व्यवहार तत्काल नियन्त्रणमा लिन आवश्यक रहेको बताएका हुन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत जारी धारणा अनुसार, मुख्य राजनीतिक दलहरूलाई निषेध गरेर गरिने निर्वाचनले वैधता पाउन सक्दैन । साथै, कतिपय समूहहरूले समानान्तर सत्ता सञ्चालन गर्ने प्रयास गरेको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रण गर्नु अनिवार्य भएको बताए ।
उनले सरकारले दलहरूसँग सहकार्य र संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै, केही मन्त्रीहरूको विपरीत व्यवहारले यस वातावरणलाई प्रभावित गरिरहेको र तत्काल सुधार आवश्यक रहेको बताए ।








