वैदेशिक लगानीमा वृद्धि : तीन महिनामै ३५ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता
काठमाडौँ । नेपालमा पछिल्ला वर्षहरूमा वैदेशिक लगानी (एफडीआई) निरन्तर बढ्दो क्रममा रहेको छ । उद्योग विभागका तथ्यांकअनुसार चालु आर्थिक वर्षका पहिलो तीन महिनामा मात्रै ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
साउनदेखि असोज मसान्तसम्म ३११ वटा नयाँ उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षमा हालसम्म सात ठूला, चार मध्यम र ३०० साना उद्योगमा लगानी स्वीकृति प्रदान गरिएको छ । गत असोज महिनामा मात्रै ७५ वटा साना उद्योगमा २ अर्ब ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाउँछ ।
उद्योग विभागले हालसम्म स्वीकृति दिएको कुल वैदेशिक लगानीको परिमाण पनि उल्लेख्य रहेको छ । विभागमा दर्ता भएका ७ हजार ५५० उद्योगमा जम्मा १ खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भइसकेको छ ।
क्षेत्रगत हिसाबले हेर्दा हाल साउनदेखि असोजसम्मको अवधिमा सबैभन्दा बढी लगानी सूचना प्रविधि (आईटी) क्षेत्रमा आएको छ । यस क्षेत्रमा १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
लगानी रकमका आधारमा भने पर्यटन क्षेत्र अग्रस्थानमा रहेको छ-यस अवधिमा पर्यटनमूलक १०३ उद्योगका लागि १ अर्ब ४६ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ ।
त्यस्तै, उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा ४ करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा पनि वैदेशिक लगानीमा उल्लेख्य वृद्धि देखिएको थियो । सो वर्षमा कुल वैदेशिक लगानी आप्रवाह ४१.८ प्रतिशतले बढेर १५ अर्ब २ करोड रुपैयाँ पुगेको थियो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ४७ करोड रुपैयाँ बराबरको लगानी नेपालमा भित्रिएको थियो ।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत कुल वैदेशिक लगानी ७४ अर्ब ९७ करोड रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको ६१ अर्ब ९० करोडभन्दा उल्लेख्य वृद्धि हो ।
हालसम्म २०८२ असारसम्ममा विभागले कुल ६ खर्ब ५१ अर्ब ४५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृति प्रदान गरिसकेको छ ।
नेपालको लगानी वातावरण सुधार गर्न कानुनी, नीतिगत र पूर्वाधारसम्बन्धी सुधारका प्रयास जारी रहेका बेला वैदेशिक लगानीमा आएको यो वृद्धि उत्साहजनक मानिएको छ । विशेषज्ञहरूले यसलाई आर्थिक पुनरुत्थानका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन् ।








