गृहमन्त्रीले मसँग दुस्मनी लिइरहेका छन्-अध्यक्ष ओली
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आफू प्रतिको गम्भीर दुस्मनीको आरोप लगाएका छन् ।
बुधवार जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरी क्षति पुर्याएको बालकोटस्थित आफ्नो निजी निवास अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले आन्दोलनका नाममा भएका अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई सरकारले कारबाही नगरी उल्टै पीडितमाथि अन्याय गरिरहेको आरोप लगाए ।
उनले भने, “आन्दोलनको क्रममा लुटपाट गर्नेहरू वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन, बरु पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । यस्तो कार्यले अर्को मुलुकमा अर्को आन्दोलनको बीजारोपण भइरहेको छ ।”
उनले भने, “सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ छैन । गृहमन्त्रीले टेलिभिजनमा दिएको अन्तर्वार्तामै उनको मनसाय स्पष्ट देखिएको छ-दुःख पाएकामाथि दुस्मनी राख्ने । त्यसमा पनि मसँग उनको गम्भीर दुस्मनी छ ।”
ओलीले सरकार हाल आन्दोलनका अगुवाहरूमार्फत आफैंमाथि दबाब बढाएर आफू र आफ्ना सहकर्मी नेताहरूमाथि पक्राउको तयारी गरिरहेको गम्भीर आशंका पनि व्यक्त गरे ।
उनका अनुसार जेन–जी आन्दोलनका क्रममा सरकारको भूमिका निष्पक्ष नभई राजनीतिक प्रतिशोधले प्रेरित देखिएको छ । ओलीले यस्तो व्यवहारले मुलुकमा शान्ति र स्थिरतामाथि प्रतिकूल असर पार्ने चेतावनी दिए ।








