आज भाइटीका : कुन देशमा कति बजे छ उत्तम साइत ?
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज देशभर भाइटीका पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिई विभिन्न मिठाई र फलफूल अर्पण गरी यो पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको छैटौं दिनलाई भाइटीका भनिन्छ । आजको दिन दिदीबहिनी र दाजुभाइबीचको स्नेह, विश्वास र आपसी समर्पणको प्रतीकका रूपमा मनाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज भाइटीका लगाउन बिहान ११ बजेर ३९ मिनेटको अभिजित् मुहूर्त सबैभन्दा उत्तम मानिएको छ । यद्यपि दिनभर टीका लगाउन कुनै बाधा नरहेको समितिले जनाएको छ ।
यस अवसरमा नेपालसहित नेपाली र नेपाली भाषी समुदाय रहेका विभिन्न मुलुकमा पनि भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार भारतको दिल्लीमा भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा निर्धारण गरिएको छ ।
त्यस्तै, अमेरिका र क्यानडामा भने अघिल्लो दिन अर्थात् अक्टोबर २२ मा नै भाइटीका लगाउने शुभ साइत परेको समितिले जनाएको छ ।
भाइटीका पर्वले दिदीबहिनी र दाजुभाइबीचको स्नेह र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउँदै सामाजिक एकता र सद्भावको सन्देश दिने विश्वास गरिन्छ ।









