१९ मंसिर २०८२, शुक्रबार

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड

प्रकाशित मिति :  23 October, 2025 11:04 am


काठमाडौँ । तिहारको मुख्य दिन भाइटीकाको अवसरमा आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइहरूले टीका लगाउन भीड लागेको छ।

बिहीबार बिहानैदेखि मन्दिर परिसरमा भाइटीका लगाउनेको ओइरो लागेको छ। परम्पराअनुसार दिदी–बहिनी नहुनेका लागि वर्षमा एकदिन मात्रै तिहारको पाँचौं दिन बालगोपालेश्वर मन्दिर खोल्ने चलन रहिआएको छ। अन्य समय मन्दिर सर्वसाधारणका लागि बन्द रहने गर्दछ।

यस दिन दिदी–बहिनी र दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा, दर्शन गरी परस्पर टीका लगाउने गर्छन्। आज बिहानैदेखि भक्तजनहरूले लाम लाग्दै भगवान् बालगोपालेश्वरको दर्शन र भाईटीका कार्यक्रममा सहभागिता जनाएका छन्।

तिहारको पाँचौं दिनलाई ‘भाईटीका’ भनिन्छ। यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाउने परम्परा रहिआएको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार यस वर्षको भाईटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा परेको छ।

टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन्। शास्त्रीय मान्यताअनुसार यसरी पूजा गर्दा दिदीबहिनीलाई अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।

भाइटीकाको दिन लक्ष्मीपूजाका दिन स्थापना गरिएको दीप, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि देवताको आराधना गर्ने प्रचलन छ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइ मखमली, सयपत्री वा गोदावरी फूलका माला अर्पण गर्ने गर्छन् ।

टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीजस्ता परिकार दिन्छन् भने दाजुभाइले गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा वा दक्षिणा दिई आशीर्वाद ग्रहण गर्छन्।

भाइटीकाको उत्पत्तिसम्बन्धी पौराणिक कथा अनुसार मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई पृथ्वी लोकमा भेट्न आएका थिए।

यमुनाले दाजु यमराजलाई निम्तो गरी पूजा–आराधना गरेर टीका लगाइन् र उपहार दिई आशीर्वाद लिएकी थिइन्। त्यसै दिनलाई स्मरण गर्न यमपञ्चकको अन्तिम दिन ‘भाईटीका’ पर्वका रूपमा मनाउने परम्परा सुरु भएको मानिन्छ।

यसरी दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र पारिवारिक स्नेह प्रकट गर्ने यो पर्वले आज देशभर उल्लासपूर्वक धार्मिक तथा सांस्कृतिक रूपमा एकता र सद्भाव फैलाएको छ।



प्रतिक्रिया दिनुहोस !