एमाले अध्यक्ष ओलीद्वारा बहिनीहरूको हातबाट भाइटीका ग्रहण
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुभ साइतमा २०८२ सालको तिहारको भाइटीका ग्रहण गरेका छन् । उनले भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बहिनीहरूबाट भाइटीका लगाएका हुन् ।
बहिनीहरूले ओलीको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै परम्परागत विधिअनुसार पञ्चरङ्गी टीका र माला लगाइदिएका थिए ।
टीका लगाउने क्रममा दिदीबहिनीहरूले विभिन्न मिठाइ, फलफूल र उपहार अर्पण गरेका थिए भने ओलीले पनि बहिनीहरूलाई दक्षिणा र उपहार प्रदान गरेका थिए ।
टीका लगाइसकेपछि अध्यक्ष ओलीले नेपाली समाजमा दाजुभाइ र दिदीबहिनीबीचको माया, स्नेह र पारिवारिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा तिहारले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले सबै नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना फैलाउने काममा यस्ता पर्वहरूको योगदान अमूल्य रहेको पनि उल्लेख गरे । भाइटीका कार्यक्रमका क्रममा ओली निवासमा पारिवारिक वातावरणमा उल्लासमय माहोल देखिएको थियो ।








