दक्षिण कोरियामा ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुने
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ। ह्वाइट हाउसका अनुसार दुवै नेता आगामी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा भेट्ने तयारीमा छन् ।
शिखर सम्मेलन आगामी अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियामा सञ्चालन हुनेछ । सम्मेलन सुरु हुनु एक दिनअघि नै राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको ह्वाइट हाउसले जनाएको छ ।
राष्ट्रपति पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्प र सीबीच हुने यो पहिलो औपचारिक भेटवार्ता हो । बीबीसीका अनुसार, यस वार्तामा व्यापार, ऊर्जा सहकार्य, र युक्रेन युद्ध लगायतका विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच हंगेरीको बुडापेस्टमा हुने भनिएको बैठक रद्द गरिएको छ। मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “म व्यर्थको बैठक गर्न चाहन्नँ। म समय बर्बाद गर्न चाहन्नँ, त्यसैले के हुन्छ, हेरौँला ।”
पुटिनसँगको बैठक रद्द गरेसँगै अमेरिकाले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाएको छ । त्यसको प्रतिक्रियास्वरूप रुसले युक्रेनका विभिन्न स्थानहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विश्लेषकहरूका अनुसार, ट्रम्प–सी वार्ताबाट अमेरिका–चीन सम्बन्धमा केही सहजता आउने अपेक्षा गरिएको भए पनि, युक्रेन युद्ध र ताइवान मुद्दा जस्ता संवेदनशील विषयले छलफललाई जटिल बनाउन सक्छ ।








