नेकपाले विघटन गर्यो माओवादी केन्द्रलगायतसँग एकता गर्न बनाएको वार्ता टोली
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपा (माओवादी केन्द्र)सहितका दलहरूसँग एकताका लागि गठन गरिएको वार्ता टोली विघटन गरेको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा रहेको वार्ता टोली जेन–जी आन्दोलनपछि पुस्तान्तरण र नयाँ राजनीतिक सन्दर्भ उत्पन्न भएको कारण तत्कालका लागि विघटन गरिएको पार्टीले जनाएको छ ।
नेकपाको विशेष केन्द्रीय समिति बैठकले वार्ता टोली विघटन गर्ने निर्णय गर्दै, वार्ताको प्रयासलाई भने आगामी दिनमा रणनीतिक रूपमा अघि बढाउने बताएको छ ।
यसअघि नेकपा (माओवादी केन्द्र)ले साउन महिनामा बसेको स्थायी कमिटी बैठकमार्फत नेकपासँग एकता गर्ने निर्णय गर्दै छलफल सुरु गरेको थियो ।
सोही क्रममा नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकताको पहल भइरहेको बेला विप्लव नेतृत्वको नेकपाले वार्ता टोली विघटन गरेको हो ।
माओवादी केन्द्रले एकता प्रस्ताव गरेपछि गत भदौको अन्तिम हप्तामा विप्लव नेतृत्वको नेकपाले प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । तर, हालै सम्पन्न जेन–जी आन्दोलनपश्चात् परिदृश्य परिवर्तन भएको भन्दै पार्टीले आकस्मिक विशेष केन्द्रीय समिति बैठकमार्फत वार्ता टोली विघटनको निर्णय गरेको हो ।
पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरका अनुसार, “वार्ता टोली तत्कालका लागि विघटन गरिएको हो । अहिलेको राजनीतिक परिस्थिति फरक भएकाले आगामी दिनमा फेरि समीक्षा हुनसक्छ,” उनले बताए ।
महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गत हप्ताको पत्रकार सम्मेलनमा नयाँ पुस्तालाई केन्द्रमा राख्दै क्रान्तिकारी कम्युनिस्टहरूलाई पुनः गोलबद्ध गर्ने निर्णय सार्वजनिक गरेका थिए । उनले भनेका थिए, “अब नयाँ कम्युनिस्ट केन्द्र निर्माण गरेर नयाँ पुस्तालाई जोड्नुपर्छ । अग्रज नेताहरूले मार्गप्रशस्त गर्नुपर्छ ।”
उनका अनुसार, सरकारमा सहभागी भएका पुराना नेताहरूले अब जनताको चाहना पूरा गर्न नसक्ने भएकाले नयाँ पुस्ताको नेतृत्वमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता आएको हो ।
विप्लवको भनाइले प्रचण्ड नेतृत्व स्वीकार गरी एकता गर्ने सम्भावना न्यून देखिएको विश्लेषण गरिएको छ । पत्रकार सम्मेलनमा उनले स्पष्ट रूपमा भनेका थिए, “कम्युनिस्ट पार्टीका स्थापित नेताहरू वा बनिबनाउ पार्टीहरूले अब नेपाली जनताको चाहना पूरा गर्न सक्दैनन् ।”
यससँगै माओवादी केन्द्रसँगको एकता प्रक्रिया अनिश्चित बन्दै गएको छ भने विप्लव नेतृत्वको नेकपाले नयाँ पुस्ता केन्द्रित ‘नयाँ कम्युनिस्ट केन्द्र’ निर्माणतर्फ ध्यान केन्द्रित गर्ने संकेत गरेको छ ।








