१९ मंसिर २०८२, शुक्रबार
चुनाव चिन्ह र नाम टुङ्गिन बाँकी

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता अन्तिम चरणमा

प्रकाशित मिति :  24 October, 2025 3:16 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको पार्टी एकता अब अन्तिम चरणमा पुगेको छ । दुवै दलले आगामी प्रतिनिधिसभा चुनावमा एकीकृत पार्टीका रूपमा सहभागी हुने तयारी गरेका छन् ।

वार्ता टोलीका सदस्यहरूका अनुसार एकताका अधिकांश विषयमा सहमति भइसकेको छ र अब कुनै ठूला अवरोध नभए एकता घोषणा केही दिनमै हुने छ । आउँदो कात्तिक ३० भित्र नयाँ पार्टी दर्ता गरेर चुनावमा जाने तयारी भइरहेको ती नेताहरूले बताएका छन् ।

दुवै दलले साझा वैचारिक आधारका रूपमा मार्क्सवाद–लेलिनवादलाई स्वीकार गर्ने र माओवादी तथा जनताको बहुदलीय जनवादलाई अलगै सिद्धान्तका रूपमा नराख्ने निर्णय लिइसकेका छन् । अब दुवै पार्टीको साझा राजनीतिक दिशा ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुने भएको छ ।

माओवादी केन्द्रका एक नेताले भने, “हामी दुवै पार्टी समाजवादको दिशामा अघि बढ्दैछौँ, अब पुराना नाम र बिवादमा नफसौं भन्ने सहमति बनेको छ ।”

नेतृत्व संरचनामा पनि नयाँ मोडेलबारे छलफल भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दुवैलाई संरक्षक वा संयोजकका रूपमा रहने प्रस्तावमा बहस भइरहेको छ । पदहरूको संख्या घटाएर सानो तर प्रभावकारी सचिवालय बनाउने तयारी छ ।

पार्टीको नामबाट ‘माओवादी’ हट्ने लगभग पक्का भएको छ । अहिले नेकपा समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी नामका विकल्पमा छलफल भइरहेको छ । झण्डा भने परम्परागत हँसिया–हथौडासहितको नै रहनेछ तर चुनाव चिन्ह नयाँ लिने वा संयोजन गर्ने विषय खुला छ ।

दुवै दलले एकतामा अन्य वाम शक्तिलाई पनि जोड्ने तयारी गरिरहेका छन् । त्यसका लागि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि संवाद भइरहेको बताइएको छ ।

यसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेताहरूसँग “पुरानै घर फर्किन” अपील गरेका थिए । तर माओवादी–समाजवादी नेताहरूले ओलीको त्यो भनाइलाई व्यङ्ग्यका रूपमा लिएर अस्वीकार गरेका छन् ।

नेकपा समाजवादीका एक नेताले भने, “हामी पुरानै घर फर्किने होइन, नयाँ स्वरूपमा अघि बढ्ने चरणमा छौँ । अब नेतृत्व हस्तान्तरण र नयाँ पुस्ताको सहभागितासहितको कम्युनिस्ट पार्टी निर्माण हाम्रो लक्ष्य हो ।”

कात्तिक ३० भित्र एकता घोषणा गरी एकीकृत पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता गर्ने लक्ष्यसहित माओवादी र एकीकृत समाजवादीबीचको एकता अब अन्तिम तयारीमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !