सरकारसँग चिढिए जेनजी : प्रदर्शनकारीकाे रिहाइ नभए कडा कदम चाल्ने चेतावनी
काठमाडौँ । माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका जेनजी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध आक्रोशित भएका छन् ।
शनिबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिहरुले पक्राउको विरोध गर्दै आपत्ति जनाएका छन् । जेनजी प्रतिनिधि मञ्जना राईले सरकारले शान्तिपूर्ण प्रदर्शनमा रहेका साथीहरुलाई पक्राउ गरेको भन्दै रिहाइ नभएसम्म नयाँ कदम चाल्न बाध्य हुने चेतावनी दिइन् । उनले भनिन्, “अब हामी पछि हट्ने छैनौं। थुनिएका साथीहरु रिहा नभएसम्म अर्को कदम चाल्न बाध्य हुनेछौं।”
भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले पनि दमनकारी नीतिविरुद्ध सबैलाई आह्वान गरे । उनले सरकारले युनिफिकेशन अभियान रोक्न खोजेको आरोप लगाउँदै आन्दोलनलाई निरन्तर अघि बढाउने योजना रहेको जानकारी दिए ।
प्रतिनिधिहरुले सरकारको दमनप्रति असहमति व्यक्त गर्दै आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।








